नेपालगन्ज । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले निर्वाचनमा पार्टीले बेहोर्नुपरेको पराजयबारे खुला र गम्भीर आत्मसमीक्षा गर्नुपर्ने बताउनुभएको छ ।
बाँके जिल्ला कमिटी सचिवालयको बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले नेतृत्वको औपचारिक मिलनले मात्रै चुनावी नतिजा नसच्चिने र पार्टीबाट टाढिएका वर्ग तथा समुदायलाई पुनः जोड्न व्यापक सांगठनिक र वैचारिक ‘पुनर्गठन’ आवश्यक रहेको स्पष्ट पार्नुभयो ।
महासचिव पोखरेलले पार्टीभित्र हुने बहस र छलफललाई समस्याका रूपमा लिन नहुने बताउनुभयो ।
‘नेताहरू मिलेर चुनावमा जाँदा पनि जनताले साथ दिएनन्, इतिहासकै गम्भीर पराजयपछि निराशा पैदा हुनु स्वाभाविक हो, उहाँले भन्नुभयो– शीर्ष नेताहरू मिलेकै आधारमा समस्या हल हुन्छ भन्ने बुझाइ गलत हो । जनताको साथ किन छुट्यो भन्नेबारे खुला र निर्मम छलफल हुनुपर्छ ।
एमालेबाट टाढिएका पाँच प्रमुख वर्ग
गहन अध्ययन र विश्लेषणका आधारमा पार्टी आफ्नो परम्परागत वर्ग र समुदायबाट टाढिँदै गएको महासचिव पोखरेलले औल्याउनुभयो । उहाँका अनुसार, नवयुवा (युवा पुस्ता), आधारभूत÷श्रमजीवी वर्ग, सहरिया मध्यम वर्ग, भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुबीच एमालेको पकड खस्किएको छ ।
युवा पुस्ता र सांगठनिक संरचनामा असामञ्जस्यता
वर्तमान सांगठनिक संरचना र युवाहरूको मनोविज्ञानबीच तालमेल नमिल्दा युवाहरू पार्टी राजनीतिबाट विमुख भइरहेको महासचिव पोखरेलको भनाइ थियो ।
‘आजको युवा पुस्ता छिटो परिणाम खोज्छ तर हाम्रो विधानले लामो धैर्यता र पर्खाइ माग्छ । युवाहरूलाई आकर्षित गर्न नीति, संरचना र व्यवहारमै परिवर्तन ल्याउनुपर्छ,’ उहाँले थप्नुभयो ।
जीवनशैली र गल्ती स्वीकार्ने संस्कृतिको खाँचो
पार्टी र नेता÷कार्यकर्ताहरूको जीवनशैली, आचरण र खर्चिलो व्यवहारप्रति जनताको असन्तुष्टि रहेको भन्दै महासचिव पोखरेलले फजुल खर्च नियन्त्रण र सादा जीवनशैली अपनाउन आग्रह गर्नुभयो । विगतका कमजोरीलाई भित्रभित्रै दबाउनुको सट्टा जनतासामु स्पष्टरूपमा स्वीकारेर नयाँ ढङ्गले अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
‘पुनर्गठन’ को वास्तविक अर्थ
सञ्चारमाध्यमहरूमा प्रचार गरिएजस्तै पुनर्गठनको अर्थ नेतृत्व हटाउनु वा व्यक्ति परिवर्तन गर्नु मात्र नभएको उहाँले स्पष्ट पार्नुभयो । उहाँका अनुसार, पार्टी पुनर्गठन भनेको नीति, विधान, कार्यशैली र सांगठनिक ढाँचालाई समयानुकूल परिमार्जन गरी निराश कार्यकर्ता र टाढिएका जनतालाई पुनः गोलबन्द गर्नु हो ।